नेपाल एक कृषि प्रधान देश हो जहाँ अधिकांश जनता प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा खेतीमा निर्भर छन्। तर, उत्पादनशीलताको मुख्य अवरोधमध्ये एक हो — पर्याप्त र भरपर्दो सिँचाइ व्यवस्था को अभाव। सिँचाइ प्रणालीको सुधार र जल स्रोतको दीर्घकालीन विकास नगरी समृद्ध कृषि सम्भव छैन। यही कारणले हालका वर्षहरूमा सरकारले विभिन्न नीतिगत कार्यक्रम तथा प्रविधिमा आधारित योजनाहरू अगाडि बढाएको छ।
नेपालमा कुल कृषियोग्य जमिनमध्ये झण्डै आधा भाग मात्र सिँचित छ। बाँकी जमिन अझैपनि वर्षामा भर पर्नुपर्ने अवस्थामा छ, जसले गर्दा बाली उत्पादन मौसममा निर्भर रहन्छ। मनसुन ढिला वा कमजोर भएमा खाद्यान्न उत्पादनमा ठूलो गिरावट आउँछ। यस्ता समस्यालाई समाधान गर्न स्थानीयदेखि राष्ट्रिय स्तरसम्म सिँचाइ योजनाहरू सञ्चालन भइरहेका छन्।
नेपाल जल स्रोतको दृष्टिकोणले धनी देश हो — नदी, खोल्सो, इनार, मुल, तालतलैया र वर्षाको पानी हाम्रो सम्पत्ति हुन्। तर यी स्रोतहरूको उपयोगमा प्रविधिको अभाव, योजना निर्माणमा समन्वयको कमी, र बजेटको अपचका कारण किसानले भरपर्दो सिँचाइको सुविधा पाएका छैनन्। अहिले ड्रिप सिँचाइ, स्प्रिंकलर प्रणाली, वर्षा जल संकलन (Rainwater Harvesting), सौर्य पम्प (Solar Pump) लगायत प्रविधिहरू विस्तार हुँदै छन्।